News संकटालाई उपाधि, सिमरामा पनि हार्यो अफ्रिकन
गोलनेपाल

सिमरा । विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको उपाधि संकटा क्लब, काठमाडौंले जितेको छ । फाइनलमा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनलाई सडन डेथमा हराउँदै संकटा च्याम्पियन बनेको हो ।

स्मरण रहोस, शनिबार नै भोजपुरमा सम्पन्न चौथो भोजपुर गोल्डकपमा पनि अफ्रिकनले फाइनलमा गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देहीसँग हार बेहोरेको थियो ।

शनिबारको जितसँगै संकटाले अफ्रिकनमाथि जितको ह्याट्रिक जमाउन पनि सफल भयो । यसअघि संकटाले अफ्रिकनलाई १९औं आहा! रारा गोल्डकपको फाइनलमा पनि हराएको थियो भने बिराट गोल्डकपमा पनि पराजित गरेको थियो ।

त्यस्तै यता सिमरा रंगशालामा भएको फाइनल भिडन्तमा निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सडन डेथसम्म पुगेको थियो । सडन डेथमा भने गोलरक्षका राजाबाबु थापा निर्णायक बन्दा संकटा च्याम्पियन बन्न सफल भएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच अफ्रिकनका काका घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । विजेता बनेको संकटाले उपाधिसहित नगद ७ लाख हात पार्यो भने उपविजेता अफ्रिकनले ३ लाख ५० हजारमा चित्त बुझायो ।

यस्ता छन् व्यक्तिगत विधातर्फका उत्कृष्टहरु

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि संकटा कै रोशन पहारी चुनिए । उत्कृष्ट फरवार्ड भने अफ्रिकनका आंगिबे घोषित हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार संकटाका राजकुमार केसीले हात पारे ।

त्यसैगरी प्रतियोगिताको उदीयमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका रोहन तामाङ घोषित भए भने फेयर प्ले पुरस्कार बागमती गाउँपालिका खेलकुद विकास समिति, फापरबारी, मकवानपुरले प्राप्त गर्यो ।

नव जनजागृति युवा क्लबको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा गत चैत्र ३१ गतेदेखि शुरु प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments