News बिराटनगरलाई हराउँदै प्ले अफमा ललितपुर
गोलनेपाल

काठमाडौं । तुलनात्मक रुपमा फितलो शुरुवात गरेको ललितपुर सिटी एफसी खुकुरी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्न सफल भएको छ ।

शनिबार भएको आफ्नो लिगचरणको अन्तिम तथा निर्णायक खेलमा ललितपुरले बिराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले हराउँदै प्ले अफमा स्थान बनाउन सफल भएको हो ।

ललितपुरको जितमा कप्तान तथा मार्की प्लेयर समेत रहेका अन्जन बिष्टले दुई गोल गरे । बिष्टले ३५औं मिनटमा ललितपुरका लागि गोलको खाता खोलेका थिए । त्यसपछि थप तीन गोल भने दोस्रो हाफमा सम्भव भयो ।

६२औं मिनटमा बिमल रानाले ललितपुरका लागि दोस्रो गोल थपे भने ८१औं मिनटमा अन्जन बिष्टले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यस्तै खेलको इन्जुरी समयमा नुरलान जाहिदले चौथो गोल गर्दै ललितपुरको जित पक्का गरेका थिए ।

खेलमा ललितपुरका लागि दुई गोल गरेका अन्जन बिष्ट सुपर प्लेयर अफ द म्याच समेत घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर पनि हात पारे ।

उता स्तब्धपुर्ण हार बेहोर्न पुगेको बिराटनगर भने सुपर लिगबाट बाहिरिएको छ ।

 

Post Comments