News धनगढीलाई हराउँदै बुटवल पनि प्ले अफमा
गोलनेपाल

काठमाडौं । महत्वपूर्ण मानिएको खेलमा साँघुरो जित निकाल्दै बुटवल लुम्बिनी एफसी पनि खुकुरी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गर्न सफल भएको छ ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा बुटवलले धनगढी एफसीमाथि १–० को जित निकाल्दै प्ले अफमा स्थान बनाउने चौथो टोली बन्यो । बुटवलको जितमा खेलको ८२औं मिनटमा सुमन लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको बुटवलले समान अंक भए तापनि गोल भिन्नताका आधारमा पोखरा थन्डर्सलाई पछि पार्दै प्ले अफका लागि छनौट हुन सफल भयो ।

स्मरण रहोस, शनिबार नै भएको पहिलो खेलमा ललितपुर सिटी एफसीले बिराटनगर सिटी एफसीमाथि ४–० को सनसनीपुर्ण जित निकाल्दै प्ले अफमा स्थान बनाएको थियो । ललितपुरको ९ अंक छ र लिगतालिकाको तेस्रो स्थानमा छ ।

उता बुटवलसँग हारका बावजुद १० अंक रहेको धनगढी पनि प्ले अफका लागि छनौट भइसकेको छ । त्यस्तै समान १० अंक जोडेको काठमाडौं रेजर्स पनि प्ले अफका लागि छनौट भएको छ । लिग चरणको अन्तिम खेलमा रेजर्सले आइतबार एफसी चितवनसँग खेल्दैछ ।

त्यस्तै यस सिजनको सुपर लिगबाट बिराटनगर सिटी एफसी, पोखरा थन्डर्स र एफसी चितवन भने बाहिरिएका छन् ।

Post Comments