News रेजर्सको शिर्षता, सुखद बनेन चितवनको सुपर लिग
गोलनेपाल

काठमाडौं । खुकुरी नेपाल सुपर लिगको अन्तिम खेलमा पनि जित निकाल्दै काठमाडौं रेजर्सले लिगतालिकाको शिर्ष स्थान कब्जा गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा रेजर्सले खराब प्रदर्शन गर्दै पुछारमा रहेको एफसी चितवनमाथि २–१ को जित निकाल्यो । दशरथ रंगशालामा सम्पन्न खेलको १९औं मिनटमा मेसुके ओलुमुको गोलबाट रेजर्सले अग्रता बनाएको थियो ।

३४औं मिनटमा सन्जोक राईले रेजर्सको त्यो अग्रता दोब्बर पारे । यद्यपि दोस्रो गोल खाएको ६ मिनट लगतै चितवनका लागि राजिव लोप्चनले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो प्रर्याप्त बनेन ।

यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको रेजर्स शिर्ष स्थानमा रह्यो । त्यस्तै दुई अंक मात्र जोडेको चितवन भने पुछारमा रहँदै लिगको समापन गर्न बाध्य भयो । खेलमा रेजर्सका तेज तामाङ सुपर प्लेयर अफ द म्याच घोषित हुँदै नगद २५ हजार हात पार्न सफल भए ।

स्मरण रहोस, सुपर लिगको प्ले अफमा पुग्ने चार टोलीको टुंगो शनिबार नै लागिसकेको छ । जसमा काठमाडौं रेजर्स र धनगढी एफसी यसअघि नै प्ले अफमा पुगिसकेका थिए । शनिबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीले प्ले अफमा स्थान बनाउन सफल भए ।

प्ले अफका खेलहरु यहि बैशाख २८ र २९ गतेका दिन हुनेछन् । त्यस्तै प्ले अफबाट बाहिरिने दुई टोलीबीचको इलिमिनेटर म्याच भने ३० गतेका दिन हुनेछ । फाइनल खेल जेष्ठ १ गतेका दिन हुने आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।

Post Comments