News ओलम्पिकको महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण
गोलनेपाल

एजेन्सी । समूह चरणमा मिश्रित प्रदर्शन गर्दै नकआउट चरण यात्रा तय गरेको क्यानडाले जारी टोक्यो ओलम्पिकको महिला फुटबलतर्फ ऐतिहासिक स्वर्ण पदक जितेको छ । ओलम्पिकको महिला फुटबलमा क्यानडाको यो पहिलो स्वर्ण पदक समेत हो ।

योकोहामा इन्टरनेशन स्टेडियममा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल भिडन्तमा क्यानडाले स्वीडेनलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा शुरुवाती अग्रता स्वीडेनले लिएको थियो । तर त्यो अग्रता जोगाउन नसक्दा स्वीडीस टोली स्वर्णबाट चुक्न पुगेको थियो । स्वीडेनका लागि खेलको ३४औं मिनटमा एम्मा ब्ल्याकस्टेनसले शुरुवाती गोल गरेकी थिईन् । तर स्वीडीस टोलीले त्यो अग्रता जोगाउन सकेन ।

उता दोस्रो हाफको ६८औं मिनटमा मेसी फ्लेमिङले क्यानडाका लागि पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए । निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपरेको थियो । जसमा क्यानडाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यो हारसँगै स्वीडेनले भने रजत पदकमा चित्त बुझाएको छ । काँस्य पदक भने अमेरिकाले जितेको थियो । बिहीबार भएको काँस्य पदकको भिडन्तमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराएको थियो ।

Post Comments