News स्पोर्टस् क्यासललाई अंशुभराको साथ
उमेश पुन
पोखरा । नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ ।
अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो ।
 
पोखरामा आज (आईतबार) आयोजित एक कार्यक्रमका बिच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
 
सो अवसरमा बोल्दै निर्देशक थापाले आफ्नो गु्रपको मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसी समझदारी गरेको बताउदै एक वर्ष अफिसियल्ली साथ दिने बताए । थापाका अनुसार गु्रपले क्यासललाई आगामी भदौको २६ गतेसम्म साथ दिनेछ ।
 
त्यसैगरी क्यासलका सञ्चालक गुरुङले हस्ताक्षर पश्चात बोल्दै अंशुभराको साथ प्रति आभार प्रकट गरे । उनले आफ्नो टोलीले विगत २ महिनादेखि प्रशिक्षण गर्दै आएको बताउदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे ।
 
यसैगरी हस्ताक्षर कार्यक्रममा बोल्दै युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिङ्गो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनैतिक हस्तक्षेप हुन नहुने समेत धारणा राखेका थिए ।

खेलाडीको अन्तिम छनौट सोमबार

विगत २ महिना देखि बन्द प्रशिक्षणमा २४ जना खेलाडी छन् । सोमबार कुल १७ जनाको अन्तिम नाम सार्वजनिक गर्ने टिम व्यवस्थापक ओम गुरुङले बताए । उनका अनुसार क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङ लगायतले प्रशिक्षण गरिरहेका छन् । उनीहरुलाई विष्णु गुरुङ र अर्विन गुरुङले प्रशिक्षण दिईरहेको व्यवस्थापक गुरुङले बताए ।
 
आगामी अजोज २ गते देखि २२ गते सम्म पोखरा रङ्गशालाको कभर्ड हलमा आयोजना हुने ए डिभिजन फुटसल लिगमा देशभरबाट कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ बाट फुटसल फाईभ धरान, दी राईजिङ क्लब धरान, बाग्मती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब, र स्काई गोल्स फुटसल क्लबको सहभागिता रहनेछ । यसैगरी गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल र सविन मेमोरियल, लुम्बिनी प्रदेश र सुदुरपश्चिमबाट २ टिमले प्रतिस्पर्धा गर्नेछ ।
 
स्पोर्टस् क्यासलले असोज २ गते साढे चार बजे पहिलो खेल प्रभातफेरी युवा क्लबसँग खेल्ने छ । लिग विजेताले नगद रु १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाखको हकदार बन्ने छ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त एन्फाले जनाएको छ ।
Post Comments