News द राईजिङ र स्काई गोल्सको फराकिलो जित
उमेश पुन

पोखरा । यहाँ जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा द राईजिङ क्लब, धरान र मच्छिन्द्र स्काई गोल्स, काठमाडौंले फराकिलो जित हात पारेका छन् ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा द राईजिङले प्रभातफेरी युथ क्लब, काठमाडौंलाई ११–६ को अन्तरले हरायो । खेलमा द राईजिङका बिकु तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा मच्छिन्द्र स्काई गोल्सले झरना स्पोर्टस क्लब, रुपन्देहीलाई ८–० को फराकिलो अन्तरले हरायो । फुटसल लिगमा झरनाको यो लगातार दोस्रो हार हो । झरनाले आइतबार मात्र लुम्बिनी फुटसलसँग ६–२ ले पराजित भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा देशभरिबाट छनौट भई आएका उत्कृष्ट १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments