News पोखरा डर्बीमा स्पोर्टस क्यासलको जित
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा शुक्रबार भएको पोखरा डर्बी भिडन्तमा स्पोर्टस क्यासलले बाजी मार्न सफल भएको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा स्पोर्टस क्यासलले शहरी प्रतिद्वन्द्वी सबिन मेमोरियललाई २–० ले हरायो ।

खेलमा स्पोर्टस क्यासलका गोलरक्षक विश्वास पौडेल म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ७ खेलबाट १९ अंक जोडेको स्पोर्टस शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित सबिन मेमोरियाल भने १० अंकका साथ छैठौं स्थानमा छ ।

शुक्रबार नै भएको अर्को खेलमा शंखमुल फुटसल र मच्छिन्द्र स्काई गोल्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा शंखमुलका अरुज सिंह म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ७ खेलबाट १५ अंक जोडेको शंखमुल दोस्रो स्थानमा छ भने स्काई गोल्स १० अंकका साथ पाँचौं स्थानमा छ ।

त्यस्तै शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा प्रभातफेरी युथ क्लबले झरना स्पोर्टस क्लबलाई ७–३ ले हरायो । खेलमा प्रभातफेरीका नबिन लामा म्यान अफ द म्याच घोषित भए । यो जितपछि ७ खेलबाट ७ अंक जोडेको प्रभातफेरी आठौं स्थानमा छ । अंकविहीन झरना भने पुछारमा छ ।

Post Comments