News सातौं फर्साटिकर कप पौष ११ देखि, विजेतालाई २ लाख
गोलनेपाल

बुटवल । रुपन्देहीमा छोटो समयमा जिल्ला बाहिर समेत लोकप्रियता कमाएको फर्साटिकर कपको सातौं संस्करण यहि पौष ११ गतेदेखि शुरु हुने भएको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा हुने प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन र पाल्पाका गरी कुल १६ टोलीहरुको सहभागिता रहनेछ । साथै, प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।

जस अनुसार प्रतियोगिताको उद्घाटन खेलमा विश्व शान्ति युवा क्लब, रुपन्देही र भैरव एफसी, नवलपरासी भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल भने यहि पौष २६ गते शनिबारका दिन हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

शुद्धोदन गाउँपालिकाको मुख्य प्रायोजना रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले एक लाख हात पार्ने आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

अध्यक्ष कुँवरका अनुसार प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि १६–१६ हजार प्रदान गरिने बताए । साथै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि जनही ५–५ हजार र ट्रफी प्रदान गरिने कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरका अनुसार जिल्ला मै रहेका स्थानीय युवा खेलाडीहरुको क्षमता र स्तर बृद्धिलाई थप उचाई प्रदान गर्न प्रतियोगितालाई यसबर्ष थप भव्यताका साथ सुसम्पन्न गर्न लक्ष्य लिएको समेत बताए । उनले प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि नगद २ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।

Post Comments