News इरानको शतप्रतिशत जित, दक्षिण कोरिया पनि सफल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ तेस्रो चरणको खेलहरु चलिरहँदा एसियन पावर हाउस इरानले आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिएको छ ।

समूह ए मा रहेको इरानले लगातार तेस्रो जित निकाल्ने क्रममा बिहीबार युएईलाई उसकै घरमा १–० ले हरायो । दुबई स्थित जबिल स्टेडियममा सम्पन्न खेलमा इरानको जितमा ७०औं मिनटमा पोर्टो स्टार मेहदी तारेमीले एक मात्र निर्णायक गोल गरे ।

समूह ए कै अर्को खेलमा दक्षिण कोरियाले सिरियामाथि २–१ को जित निकाल्यो । घरेलु मैदान आसान स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि ४७औं मिनटमा ह्वाङ इन बियोमले पहिलो गोल गरे । तर ८३औं मिनटमा ओमार खर्बिनले सिरियाका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको अन्तिम दश मिनट नाटकीय बन्यो । गोल खाएर पनि हार नमानेको दक्षिण कोरियाका लागि ८८औं मिनटमा टोटेनह्याम स्टार ह्युङ मिन सोनले निर्णायक गोल गरेपछि कोरियाले रोमाञ्चक जित दर्ता गरेको थियो ।

समूह ए कै अर्को खेलमा इराक र सिरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । बिहीबारको नतिजापछि समूह ए मा ३ खेलबाट ९ अंक जोडेको इरान शिर्ष स्थानमा छ । ७ अंकका साथ दक्षिण कोरिया दोस्रो स्थानमा छ भने समान २–२ अंक जोडेका युएई, लेबनान र इराक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । त्यस्तै एक अंक मात्र जोडेको सिरिया पुछारमा छ ।

Post Comments