News प्रस्तावित एन्फा टेक्निकल सेन्टरलाई सरकारको सहयोग र चासो
उमेश पुन
 
पोखरा । विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवस्यक तटबन्धन लगाइदिने भएको छ ।
 
फिफा ड्रिम प्रोजेक्टको रुपमा रहेको उक्त परियोजनामा प्रदेश सरकारले आवस्यक सहयोग गर्ने भएको हो । शुक्रवार कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भिंडाबारीमा बन्न लागेको प्रस्तावित परियोजनाको स्थलगत निरिक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
उनले परियोजनाबारे जानकारी लिदैँ प्रदेश सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए । "प्रस्तावित परियोजनाको स्थलगत बुझ्ने मेरो पहिल्यै चाहाना थियो, तर आजमात्रै अवसर पाए । ढिला भएपनि यहाँ आइपुगे परियोजना अघि सार्ने एन्फा अध्यक्ष लगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद छ ।" मुख्यमन्त्री पोखरलेले भने, "प्रदेश सरकाको यो सिंगो दायित्व हो । यसबाट प्रदेश सरकार भाग्दैन । हामी सहर्ष स्विाकर गर्छौ।"
 
उनले पर्यटकीय प्रदेश समेत भएकाले यहाँ अन्तर्राष्ट्रिय पूर्वाधार निर्माण हुँदा अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्ने बताए । उता परियोजनाबारे जानकारी दिदैँ फिफा परियोजना कोर्डिनेटर गोकुल थापाले तयारी पुरा भएपनि वातावरणीय प्रभाव मुल्याब प्रतिवेदनको पत्र पाउन मात्रै बाँकी रहेको बताए । उनले परियोजना दक्षिण एशियाकै नमुना रहेको बताउँदै परियोजना ४ चरणमा गरी सकिने जानकारी दिए ।
 
यस्तै परियोजनाको शिलान्यास समेत यहि वर्षभित्र हुने बताए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले परियोजना सफल पार्न सरकारले एकचित्त भएर लागिदिन आग्रह गरे । उनले परियोजना सुरुहुने भनेको वर्षौ वितिसक्दा समेत सुरु नहुँदा स्थानीयमा निराशा समेत छाएको बताए । "हामीलाई प्रदेश सरकारको सहयोगको आवश्यकता छ । यो परियोजना बनाउन सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु" उनले भने ।
 
त्यस्तै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले परियोजना देशकै गौरवको परियोजना रहेको सुनाए । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले परियोजना निमार्णका लागि पालिका र स्थानियको पूर्ण समर्थन रहेको बताए ।
 
Post Comments