News प्रहरी तालिम केन्द्रको जितमा धनीरामको ह्याट्रिक
गोलनेपाल

धनीराम चौधरीले ह्याट्रिक गरेपछि पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवल जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा प्रहरीले साविक विजेता युनाइटेड कपिलवस्तुमाथि ६–१ को शानदार जित हात पार्यो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा प्रहरीका लागि धनिरामले ३ गोल गरे भने सुनिल नेपालीले २ तथा विवेक पाण्डेले एक गोल गरे । उता पराजित कपिलवस्तुका लागि एक मात्र गोल अर्जुन बि.क.ले गरे ।

मंगलबारको खेलमा ह्याट्रिक गरेका प्रहरीका धनिराम चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र योङ स्टार एफसी, मडाहाबीच हुने आयोजकले जनाएको छ ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।

Post Comments