News महिला गोल्डकपको व्यक्तिगत विधामा पनि आर्मी कै दबदबा
गोलनेपाल

धनकुटा । शुक्रबार सम्पन्न शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधि जितेको नेपाल आर्मी क्लबले व्यक्तिगत विधातर्फ पनि आफ्नो वर्चश्व जमाएको छ ।

फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि जितेको थियो । विजेता आर्मीले उपाधिसहित नगद २ लाख समेत हात पारेको थियो ।

उता आर्मीले प्रतियोगिताको व्यक्तिगत विधातर्फ आठ विधामा आफ्नो पकड जमायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीकी अन्जना राना मगर घोषित भईन् भने उत्कृष्ट डिफेन्डर एपिएफ की गीता राना घोषित भईन् ।

त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि एपिएफ कै रेनुका नगरकोटी चुनिईन् । त्यस्तै उत्कृष्ट फरवार्ड आर्मीकी रश्मी घिसिङ घोषित भईन भने उत्कृष्ट प्रशिक्षक पनि आर्मी कै चक्र तामाङ घोषित भए । उनीहरुले जनही ५–५ हजार हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता आर्मी की शर्मिला थापा मगर घोषित भईन् । उनले नगद ७ हजार प्राप्त गरिन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी एपिएफकी स्टार स्ट्राइकर साबित्रा भण्डारी बनिन् । उनले पुरस्कार वापत नगद १० हजार हात परिन् ।

 

Post Comments