News आयोजकलाई निराश पार्दै हेलिबोथ अन्तिम चारमा
रमेश समदर्शी

इलाम । आयोजक युनाइटेड देउमाई युथ क्लबलाई हराउँदै हेलिबोथ एफसी यहाँ जारी प्रथम देउमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको समिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय भानुभक्त माविको छात्रावास खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा हेलिबोथले आयोजकलाई टाईब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

हेलिबोथका लागि खेलको ११औँ मिनेटमा दिवस राईले गोल गरेका थिए । लगत्तै आयोजकका लागि हेमसागर राईको प्रहारलाई गोल पोस्ट नजिकै अनमार्क रहेका रोहित राई सिधै हातले रोकेपछि रेड कार्ड पाउँदै हेलिबोथ १० खेलाडीमा सीमित बन्न पुगेको थियो । आयोजकले पाएको पेनाल्टी अवसरलाई हेमसागर राई चुकेपछि खेलमा फर्किन खेलको अन्तिम समय पर्खिनु परेको थियो ।

इन्जुरी समयमा सम्हालिन नसक्दा होलिबोथले जित निकाल्न टाइब्रकेरको सहारा लिनु पर्यो । आयोजकका लागि इन्जुरी समयमा प्रविन राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर, टाइब्रेकरमा आयोजकका खेलाडीले १ गोलमात्र गर्न सफल भए भने हेलिबोथका ३ खेलाडीले गोल गरे ।

खेलको म्यान अफ द म्याच हेलिबोथका गोलरक्षक पुजन गुरुङ घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल फिदिम स्पोर्टिङ क्लब, पाँचथर र डाँगीहाट एफसी, मोरङबीच हुने आयोजकले जनाएको छ । फागुन १४ गते हुने फाइनल खेलको विजेताले उपाधिसहित नगद १ लाख पाउनेछ ।

Post Comments