
बिराटनगर । टाईब्रेकरमा निकालेको जितसँगै दमक फुटबल एकेडेमी, झापा यहाँ जारी दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिराटनगर जुट मिल्स मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा दमकले एन्फा एकेडेमी, धरानलाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलमा दमक फुटबल एकेडेमीका लागि २७औं मिनटमा राहुल लिम्बुले गोल गरेका थिए भने ३६औं मिनटमा रोहन सिङ्ताङ्गले एन्फा एकेडेमी, धरानका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि टाईब्रेकरमा एन्फा एकेडेमी निराश बन्न पुग्यो ।
खेलमा दमक फुटबल एकेडेमीका आयुष लिम्बु म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी उद्योग परिसंघ मोरङका उपाध्यक्ष नवल किशोर कावराले नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत चैत्र १३ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल साइनो स्पोर्टस क्लब, रानी मोरङ र गाईघाट फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।