News मिलेनियम फ्रेण्डस क्लब फाइनलमा
रमेश समदर्शी

इलाम । अप्रत्यासित नतिाज निकाल्दै फिक्कलको मिलेनियम फ्रेण्डस क्लब इलामको फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । स्थानीय विष्णु माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रतिद्वन्द्वी मोरङको लेटाङ एफसीमाथि गोलको वर्षा गर्यो । 

लेटाङमाथि ९-० गोलअन्तरले पराजित गर्दै फिक्कलले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । खेलमा आशिष राईले ह्याट्रिक पूरा गरे भने दिवश खापुङ र अभिषेक खड्काको नाममा २-२ गोल रह्यो । यस्तै, सचिन योल्मू र शेखर राईले १-१ गोल गरे । 

खेलको ६ मिनेटमै पहिलो गोल सचिन योल्मूले गरेका थिए । आशिष राईले खेलको खेलको ९ मिनेट, ५६ मिनेट र ६९औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे । यस्तै, अभिषेक खड्काले खेलको २० मिनेट र ४१ मिनेटमा गोल गरे भने दिवश खापुङले खेलको ११ मिनेट र खेलको इन्जुरी समयमा गोल गरेका थिए । शेखर राईले खेलको ३९औँ मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच ह्याट्रिककर्ता आशिष राई घोषित भए । उनले नगद २ हजार पाए । मंगलबार अन्तिम सेमिफाइनल खेल सताक्षीधाम स्पोर्टिङ क्लब झापा र पथरी ११ एफसी मोरङबीच हुनेछ । त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख पाउनेछ ।

Post Comments