News फराकिलो जितका साथ आर्मी सेमिफाईनलमा
गोलनेपाल

धनगढी । फराकिलो जितका साथ त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले बागमती युवा क्लब, सर्लाहीलाई ७–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको आर्मीले पहिलो हाफमा चार र दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो । आर्मीका लागि १७औं मिनेटमा ईन्दिरा राईले पहिलो गोल गरेकी थिईन् भने २८औं बागमतीकी सुस्मिता तामाङले आत्मघाती गोल गर्दा विभागीय टोलीले अग्रता दोब्बर बनाएको थियो ।

त्यसको एक मिनट लगतै अमिषा कार्कीले आर्मीका लागि तेस्रो गोल गरिन् । त्यस्तै ३९औं मिनेटमा दीपा शाहीले चौथो गोल थपेकी थिईन् ।

दोस्रो हाफको ४९ र ६०औं मिनटमा कुसुम खतिवडाले लगातार दुई गोल गर्दै आर्मीको अग्रता ६–० को स्थितिमा पुर्याईन । विपक्षीमाथि पूर्ण हावी बनेको आर्मीका लागि अन्तिमतिर अमिषा कार्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गर्दै आर्मीको फराकिलो जित सुनिश्चित गरिन् ।

प्रतियोगिता अन्तरगत बैशाख ५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका बीच हुने आयोजकले जनाएको छ ।

वनदेवी युवा क्लब, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि बैशाख १० गतेका दिन हुनेछ ।

Post Comments