News नयाँ क्लबमा रोहितको सुखद शुरुवात
गोलनेपाल

काठमाडौं । यसै वर्ष पर्सिजा जकार्ता छाड्दै अर्को इण्डोनेसियन सुपर लिग क्लब पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले नयाँ क्लबमा सुखद शुरुवात गरेका छन् ।

नयाँ सिजनको शुरुवात गर्ने तयारीमा रहेको केडिरीले बुधबार भएको अभ्यास खेलमा अर्को लिग वान क्लब देवा युनाइटेडमाथि ३–१ को जित निकाल्यो । पर्सिकको जितमा रियाट्नो एबिसो, ब्राजिलियन फरवार्ड जोएन्डरसन र मुहमद रिदवानले गोल गरे ।

पर्सिजा जकार्तासँगको करिब पाँच वर्षे लामो सहकार्य अन्त्य गरेर गत महिना मात्र पर्सिकमा आवद्ध भएका रोहितले नयाँ क्लबमा पनि पहिलो रोजाई मै रहेर खेल्ने सम्भावना छ ।

पर्सिकले गत सिजन इण्डोनेसियन सुपर लिगमा तालिकाको ११औं स्थानमा रहेर सिजनको समापन गरेको थियो । इण्डोनेसियाको शिर्ष लिगको नयाँ सिजन जुलाईको अन्तिम सातादेखि शुरु हुँदैछ ।

 

Post Comments