News हेमजा गोल्डकपको फाइनलमा एभनिर
उमेश पुन

पोखरा । उपाधिको दावेदार मध्ये एक एभनिर एफसी, क्यामरुन यहाँ जारी नेपाल आइस छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा एभनिरले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पोखरा २५, हेमजा स्थित गौरीशंकर खेलमैदानमा शुरुवाती अग्रता लिएर पनि चर्च ब्वाईज निराश बन्न पुग्यो ।

खेलको चौथो मिनटमै कप्तान मिलन राईको गोलबाट अग्रता बनाएको चर्च ब्वाईजले त्यसलाई जोगाउन सकेन । खेलको सातौं मिनटमा आनिसेले एभनिरका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए ।

खेलको ५१औं मिनटमा चर्च ब्वाईजका दिनेश राजवंशी र एभनिरका स्टेफनले रातो कार्ड खाँदै मैदान छाड्दा दुवै टोली दश खेलाडीमा सिमित बनेको थियो । खेलको ७६औं मिनटमा संगले एभनिरका लागि सुन्दर दोस्रो र निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

निर्णायक गोलकर्ता संग खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । एभनिरले अब उपाधिका लागि शनिबार आयोजक हेमजा युनाइटेडसँग फाइनल खेल्नेछ ।

हेमजा युनाइटेड, पोखराको आयोजना तथा नेपाल आइसको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments