News दुई खेलमा एनआरटीको पोष्टमा दश गोल, पेनाङ बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं । घरेलु लिग शुरु हुनु अघि प्रि–सिजन भ्रमणका रुपमा मलेसिया पुगेको नेपाली फुटबल क्लब न्युरोडटिम (एनआरटी) ले लज्जाजनक हारका साथ मलेसिया भ्रमण समापन गरेको छ ।

प्रतिष्ठित टिवाईटी कपतर्फ समूह चरणको अन्तिम खेलमा शनिबार एनआरटीले घरेलु टोली पेनाङ फुटबल क्लबसँग ५–० को फराकिलो अन्तरले पराजित भयो । एनआरटीले आफ्नो पहिलो खेलमा इण्डोनेसियन क्लब कारो युनाइटेड एफसीसँग ५–१ को हार बेहोरेको थियो ।

त्यस्तै प्रतियोगिताको पहिलो खेलमा कारो र पेनाङले १–१ गोलको बराबरी खेलेका थिए । समूहको तीनै खेलहरु समाप्ती हुँदासम्म समान ४–४ अंक जोडे तापनि कारोलाई हेड टु हेडका आधारमा पछि पार्दै पेनाङ शिर्ष स्थानमा रह्यो र टिवाईटी कपको च्याम्पियन बन्यो ।

एउटै खेल जित्न नसकेको एनआरटी भने पुछारमा रह्यो । एनआरटीले त्यतैबाट थाइल्याण्डको भ्रमण गर्ने पनि योजना छ । त्यसपछि क्लब स्वदेश फर्किने बताइएको छ ।

Post Comments