News कालिंगामा गर्जिएको नेपाली युथ टोली
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप शुरु हुनु अघि आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान आयुष घलानले माल्दिभ्स विरुद्ध निश्चित जित र तीन अंकका लागि खेल्ने विश्वासिलो प्रतिक्रिया दिएका थिए । यद्यपि मुख्य प्रशिक्षक मेघराज केसीले भने विपक्षी टिमहरुप्रति अनभिज्ञता प्रकट गरे तापनि सबै टोली राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार नेपालले माल्दिभ्ससँग खेल्दा कप्तान आयुषको भनाई भने चरितार्थ बन्यो । भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको लिग चरणको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को शानदार जित दर्ता मात्र गरेन, आफूलाई उपाधिको बलियो प्रत्याशी मध्ये एकका रुपमा पनि उभ्यायो ।

खेलमा पहिलो हाफ सुस्त देखिए पनि दोस्रो हाफमा नेपाल आक्रमक बनेको थियो । मध्यान्तर हुन केही मिनट मात्र बाँकी छँदा दिपेश गुरुङले बक्सबाहिरबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा नेपाल अझ आक्रमक बन्यो । ५७औं मिनटमा सुगम सुवालले सटिक गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

दोस्रो हाफ मै नेपालले पेनाल्टीको अवसर पनि पायो । विपक्षी खेलाडीले कप्तान आयुषलाई बक्स भित्र फल गर्दा नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६१औं मिनटमा क्रितेश रत्न छुन्चुले कुनै गल्ती नगरी गोलमा परिणत गरे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा मनग्य नकर्मीले चौथो गोल गर्दै नेपालको उत्कृष्ट जित पक्का गरे ।

खेल पश्चात उत्कृष्ट जित निकाले पनि नेपालका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली अहिले नै फाइनलमा पुग्ने कुरा अनुमान गर्न नसकिने बताए । उनले अझै खेलहरु खेल्न बाँकी रहेको चर्चा गर्दै फाइनलबारे अहिले नै केहि भन्न नसकिने बताए । यद्यपि उनले आफ्नो टिमले राम्रो खेलेकोमा खुशी व्यक्त गरे ।

यो जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण ३ अंक पनि जोडेको छ । प्रतियोगिता अन्तरगत नेपालले बुधबार श्रीलंकासँग कालिंगा स्टेडियम मै खेल्नेछ । जुन खेल नेपाल समयअनुसार बेलुका ७ः१५ बजेदेखि शुरु हुनेछ ।

 

Post Comments