News लिस्नु कपमा पाँच जिल्लाका १६ टिमहरु भिड्ने
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक लिस्नु कपको २०औं संस्करणमा पाँच जिल्लाका कुल १६ टोलीहरुले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा रुपन्देहीसहित स्याङ्जा, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका टिमहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नेम बहादुर पुनले सहभागि टोलीहरुबारे जानकारी गराएका हुन् । संयोजक गुरुङका अनुसार प्रतियोगितामा सहभागिताका लागि थुप्रै टोलीहरु इच्छुक भए तापनि आफूहरुले सिमित र राम्रो टोलीहरुलाई मात्र इन्ट्री दिइएको बताए ।

तिलोत्तमा नगरपालिका १५ स्थित पशुपति माविको खेलमैदानमा हुने प्रतियोगिता नाईन ए साईडका रुपमा खेलाईने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले नगर मात्र नभएर जिल्ला कै प्रतिष्ठासँग जोडिएको लिस्नु कपलाई सबैले मिलेर भव्यताका साथ सफल पार्न आग्रह गरे ।

अध्यक्ष मल्लले प्रतियोगिता राष्ट्रियस्तर कै हुने र सहभागि टोलीहरुमा राष्ट्रियस्तरका चर्चित खेलाडीहरुको सहभागिता रहने पनि उनले दावी गरे । साथै उनले प्रतियोगितालाई चुस्त र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

क्लबका सचिव मनोज कुमार क्षेत्रीको सञ्चालन र स्वागत मन्तव्य रहेको कार्यक्रममा लिस्नु युवा क्लब कै पूर्व अध्यक्ष, समाजसेवी तथा सल्लाहकार खेमराज गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले मन्तव्य राख्दै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए ।

विजेताले ३ लाख पाउने

लिस्नु कपको विजेताले उपाधिसहित नगद ३ लाख पाउनेछ भने उपविजेताले १ लाख ५० हजार पाउने क्लबका कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्रीले बताए । उनका अनुसार सेमिफाइनलमा पराजित दुई टोलीलाई पनि जनही २५–२५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताए ।

साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कोषाध्यक्ष याण्डे क्षेत्रीले बताए । आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार प्रायोजन श्री माया गुरुङले आफ्नो दिवंगत पिता स्व. डिम बहादुर गुरुङको स्मृतिमा प्रायोजन गरेको जानकारी दिइयो ।

यहि भाद्र १८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका भने छिटै प्रकाशित गरिने पनि आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो ।

स्मरण रहोस, पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको लिस्नु कप यसपटक भव्यताका साथ सम्पन्न गर्ने आयोजकले दावी गर्यो । प्रतियोगिताको गत संस्करणको उपाधि फर्साटिकर युवा क्लबले जितेको थियो ।

 

Post Comments