News सञ्जिवनी लिस्नु कपको सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । सञ्जिवनी युवा क्लब, देवीनगर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा सञ्जिवनीले अर्को दावेदार मानिएको वालिङ युनाइटेड, स्याङलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलको ४१औं मिनटमा कप्तान आशिष गुरुङले पेनाल्टीबाट सञ्जिवनीका लागि पहिलो गोल गरेका थिए । वालिङका सरोज दहालले सञ्जिवनीका जमिर मियाँलाई बक्सभित्र लडाएपछि सञ्जिवनीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई कप्तान गुरुङले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

त्यस्तै ६०औं मिनटमा मोहन थापाले दोस्रो गोल थप्दा सुरज घलानले ७२औं मिनटमा तेस्रो गोल थप्दै सञ्जिवनीको जित पक्का गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सञ्जिवनीका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ २९ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक लिस्नु युवा क्लब र अञ्चलपुर युवा क्लबबीच हुने खेल संयोजक नेम बहादुर गुरुङले जानकारी दिए । आगामी ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ ।

Post Comments