News समपुर्ण कप शुरु, आहानाको विजयी शुरुवात
सुरज राना मगर

तिलोत्तमा । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा मंगलबारदेखि स्व. खबिर पुन र प्यारी पुन स्मृति प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको उद्घाटन खेलमा आहाना एफसी, बुटवलले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा आहानाले लिस्नु युवा क्लब, कोटिहवालाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ आहानाका लागि अनुप गुरुङ र मिलन मगरले गोल गरे । उता लिस्नुका लागि अंकित रासकोटी र हिमाल मगरले गोल गरे ।

टाईब्रेकरमा भने आहानाले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा आहानाका गोलरक्षक बिक्रम राना मगर म्यान अफ द म्याच चुनिए । यो जितसँगै आहाना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत असोज ५ गते बुधबारको खेल तिलोत्तमा युवा क्लब र लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइन बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच विशिष्ठ अतिथी तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले गरेका थिए । सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक समपुर्ण युवा क्लबका अध्यक्ष झविलाल थापा, खेल संयोजक प्रेम पुन लगायतको उपस्थिति रहेको थियो ।

यहि असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रेम पुनले बताए ।

Post Comments