News आयोजक दमकडालाई आठौं भ्याली कपको उपाधि
सुरज राना मगर

पाल्पा । आठौं भ्याली कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक दमकडा ब्रदर्श फुटबल क्लबले जितेको छ । फाइनलमा न्यु युथ युनियन क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै आयोजक दमकडा च्याम्पियन बनेको हो ।

त्यसअघि तानसेन–९ स्थित दमकडा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि टाईब्रेकरमा भने नतिजा दमकडाले आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको दमकडाले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता न्यु युथ युनियनले २२,२२२ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको प्रतियोगिता संयोजक अंकित बञ्जाडेले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ दमकडा कै सुशिल बौडेल उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर पनि दमकडा कै अनिष पाण्डे घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि दमकडा कै आशिष राना घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने न्यु युथ युनियनका कप्तान सुस्मित केसीले हात पारे ।

दमकडा ब्रदर्श एफसी, तानसेन–९, पाल्पाको आयोजनामा गत असोज २८ गतेदेखि शुरु प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष अमृत रानाले जानकारी दिए । उनले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार प्रकट गरे । साथै प्रतियोगितालाई आउँदो वर्षहरुमा थप भव्यताका साथ सम्पन्न गर्ने योजना रहेको समेत सुनाए ।

 

Post Comments