News सहलेश बेलबारी गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

बेलबारी । सहलेश युथ्र क्लब, सिराहा यहाँ जारी पाँचौं बेलबारी बुद्ध एयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ सहलेशले आमुक्त परिवार, वेस्ट बंगाल, भारतलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

बेलबारी स्थित लक्ष्मी माविको खेलमैदानमा सम्पन्न खेलको ३०औं मिनटमा सत्यम शर्माको गोलबाट भारतीय टोलीले खेलमा अग्रता बनाएको थियो । यद्यपि ४१औं मिनटमा फोडे फोफनाले सहलेशका लागि बराबरी गोल फर्काए । ४७औं मिनटमा दिनेश हेमजनले सहलेशका लागि दोस्रो गोल गरे भने ७८औं मिनटमा फोफनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सहलेशको जित पक्का गरे ।

खेलमा दुई गोल गरेका सहलेशका फोफना नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक १७ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल रोलिङ फुटबल क्लब, झापा र आयोजक डाँगीहाट फुटबल क्लब, मोरङबीच हुनेछ ।

बुद्ध एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गतेका दिन हुनेछ ।

Post Comments