News एपिएफ बन्यो बेलबारी गोल्डकप च्याम्पियन
गोलनेपाल

बेलबारी । यहाँ सम्पन्न पाँचौं बेलबारी बुद्ध एयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ फुटबल क्लबले जितेको छ ।

फाइनलमा एपिएफले राजारानी फुटबल क्लब, धनकुटालाई १–० ले हराउँदै विजेता बनेको हो । लक्ष्मी माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्ततर्फ खेलको ४८औं मिनटमा हरि कार्कीले गरेको एक मात्र गोल एपिएफलाई च्याम्पियन बनाउन निर्णायक बन्यो ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद ८ लाख हात पार्यो । त्यस्तै उपविजेता बनेको राजारानीले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलमा निर्णायक गोल गरेका एपिएफका हरि कार्की म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

एपिएफका टोप बहादुर बिष्ट सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक एपिएफ कै राज नगरकोटी घोषित भए भने उत्कृष्ट डिफेन्डर राजारानीका पिटर सेगुन बने । उत्कृष्ट मिडफिल्डर एपिएफका मणि लामा बन्दा उत्कृष्ट फरवार्ड राजारानीका बुद्ध चेम्जोङ घोषित भए ।

उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका काशिम राई चुनिंदा उत्कृष्ट प्रशिक्षक एपिएफका सुदिप श्रेष्ठ घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

डाँगीहाट युथ क्लब, मोरङको आयोजना तथा बुद्ध एयरको मुख्य प्रायोजनामा कार्तिक १५ गतेदेखि शुरु प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments