News गोर्खा ब्वाईज क्लब क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

गोर्खा ब्वाईज क्लब, बुटवल रुपन्देहीमा जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित चाँदनी फुटबल मैदानमा सम्पन्न बिहीबारको खेलमा गोर्खा ब्वाईजले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै कञ्चन युवा क्लब, बेलडाँडालाई ३–२ ले हरायो । कञ्चनका लागि सञ्जय थापा र धनिराम चौधरीले शुरुवाती दुई गोल गरेका थिए ।

तर खेलमा उत्कृष्ट रुपमा फर्किएको गोर्खा ब्वाईजका लागि राजकुमार रसाइलीले पहिलो गोल गरे भने कप्तान रबिन थापाले फ्रिकिक मार्फत सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै बिकास थापाले गोर्खा ब्वाईजका लागि तेस्रो गोल गर्दै टोलीलाई उत्कृष्ट जित दिलाए ।

खेलमा निर्णायक गोल गरेका बिकास थापा खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत असोज १९ गते शुक्रबारको खेल मुर्गिया एफसी, मुर्गिया र खुकुरी एफसी, भैरहवा बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments