News फेरि पुछारमा खस्कियो रोहितको टोली
गोलनेपाल

काठमाडौं । खराब लयबाट गुज्रिरहेको नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केडिरीले इण्डोनेसियन लिगा वानमा सिजनको सातौं बराबरी खेलेको छ ।

बुधबार सम्पन्न खेलका पेर्सिकले दश खेलाडीमा खुम्चिएको पेर्सिकाबोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ८०औं मिनटमा पेर्सिकाबोका मोहम्मद केमालुद्दिनले रातो कार्ड खाँदै मैदान छाडे तापनि अन्तिम समयतर्फ पेर्सिकले त्यसको फाईदा उठाउन सकेन ।

यो बराबरी नतिजासँगै पेर्सिक लिगतालिकाको फेरि पुछारमा खस्किएको छ । १६ खेलबाट १० अंक मात्र जोडेको रोहितको टोली पेर्सिक लिगतालिकाको पुछारमा छ र रेलिगेशनको त्रासमा छ । उता पेर्सिकाबो भने २२ अंकका साथ नवौं स्थानमा छ ।

लिगतालिकाको शिर्ष स्थानमा भने १६ खेलबाट ३२ अंकका साथ मदुरा युनाइटेड रहेको छ । पेर्सिकले आफ्नो आगामी खेल शनिबार पेर्सिससँग खेल्नेछ ।

Post Comments