काठमाडौं । खेलमा शुरुवाती दुई गोल खाएर पछि परेको स्थिति उल्टाउँदै चर्चित हिरो आइ लिगमा किरण चेम्जोङको टोली मिनर्वा पञ्जाबले उत्कृष्ट जित हात पारेको छ ।
बुधबार लुथियाना स्थित घरेलु मैदान गुरु नानक स्टेडियममा भएको खेलमा पञ्जाबले नेरोकालाई ३–२ ले हरायो । खेलको चौथो मिनटमै वरुन थोक्चमले नेरोकाका लागि पहिलो गोल गरे । लगतै २०औं मिनटमा फिलिप टेटेले त्यो अग्रता दोब्बर पारे ।
तर खेलमा हार नमानेको पञ्जाबका लागि क्यामरुनी स्ट्राइकर डिपान्डा डिका नायक साबित भए । डिपान्डाले पहिलो हाफको २७ र ४३औं मिनटमा गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए भने अन्तिमतिर ८९औं मिनटमा तेस्रो निर्णायक गोल गर्दै ह्याट्रिक समेत पूरा गरे ।
आइ लिगमा यस सिजन डिपान्डाको त्यो पहिलो ह्याट्रिक थियो । साथै जारी आइ लिगमा उनको गोल संख्या पनि आठ पुगेको छ । जुन तथ्यांकले उनलाई जारी सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा समेत राख्न सफल भएको छ ।
यो जितसँगै १० खेलबाट १७ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । र, शिर्ष स्थानमा रहेको मोहन बगान भन्दा ३ अंकले पछि । यद्यपि मोहन बगानले एक खेल कम खेलेको छ । उता पराजित नेरोका भने ८ अंकका साथ आठौं स्थानमा छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै