News शुद्धोधन गाउँपालिका १०औं फर्साटिकर कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

फर्साटिकर । मोफसलमा रहेर राष्ट्रियस्तर मै आफ्नो अलग पहिचान बनाएको फर्साटिकर युवा क्लब, रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका १०औं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिता यही माघ ६ गतेदेखि शुरु हुने भएको छ ।

शुद्धोधन गाउँपालिका स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको प्रतियोगिता संयोजक बिष्णु पंगेनीले जानकारी दिए । सकेसम्म स्थानीय क्लब र खेलाडीहरुलाई नै अवसर र प्रोत्साहन मिल्ने गरी प्रतियोगिता आयोजनालाई निरन्तरता दिइएको उनले बताए ।

संयोजक पंगेनीका अनुसार प्रतियोगितामा रुपन्देहीसहित नवलपुर, कपिलवस्तु, नवलपरासी, पाल्पाका गरी कुल १६ टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माघ ६ गतेका दिन फर्साटिकर एकेडेमी र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार भिड्ने छन् ।

यसपटक प्रतियोगिताको पुरस्कार रकममा पनि बृद्धि गरिएको आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए । अध्यक्ष कुँवरका अनुसार यस संस्करणको विजेताले उपाधिसहित नगद २,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,२५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि १५,५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष कुँवरले बताए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले १०,५५५ रुपैयाँसहित ट्रफी हात पार्नेछ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही ५,५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन ।

युवा एकता तथा खेलकुदको विकाससँगै स्थानीय युवा फुटबल खेलाडीहरुको क्षमता र स्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई हरेक वर्ष निरन्तरता दिईंदै आएको संयोजक बिष्णु पंगेनीले बताए । शुद्धोधन गाउँपालिकाको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल माघ २१ गतेका दिन हुनेछ ।

Post Comments