News दिनेश र तेज पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यद्वय तेज तामाङ र दिनेश राजवंशी पनि सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् । स्मरण रहोस, राष्ट्रिय टोली कै अर्का युवा डिफेन्डर गौतम श्रेष्ठ पनि केही दिन अघि मात्रै सिड्नी पुगेका थिए ।

स्मरण रहोस, दिनेश र तेजले केही साता अघि मात्र सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकपमा चर्च ब्वाईज युनाइटेडका लागि खेलेका थिए । साथै उनीहरुले नयाँ सिजन चर्च ब्वाईज कै लागि खेल्ने बलियो सम्भावना पनि थियो । तर अष्ट्रेलिया हानिएसँगै उनीहरु आउँदो ए डिभिजन लिगका लागि उपलब्ध नहुने निश्चित भएको छ ।

घरेलु फुटबलको संरचना अस्थिर बन्दा र फुटबलमा भविष्य बन्ने नदेख्दा पछिल्लो केही महिना यता विदेश पलायन हुने राष्ट्रिय खेलाडीहरुको सूची लम्बिदै गईरहेको छ । अधिकांश राष्ट्रिय फुटबल टोलीका सदस्यहरु अष्ट्रेलियालाई नै आफ्नो पहिलो गन्तव्य बनाईरहेका छन् ।

यसअघि राष्ट्रिय टोलीमा राम्रो स्थान बनाएका आशिष लामा, सन्तोष तामाङ, सुमन अर्याल, सुमन लामा, अभिषेक रिजाल, राजन गुरुङ, आकाश मगर, शिव गुरुङ जस्ता खेलाडीहरु पनि अष्ट्रेलिया पुगिसकेका छन् । त्यसमा जगजित श्रेष्ठ, एलन न्यौपाने, सुलभ मास्के जस्ता खेलाडीहरु पहिल्यैबाट अष्ट्रेलिया मै अभ्यस्त भईसकेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिष्ठित शहिद स्मारक ए डिभिजन लिग आउँदो फागुन १९ गतेदेखि गर्ने भने तापनि खेलाडीहरु भने अझै ढुक्क भईसकेका छैनन् । पटक–पटक लिगको मिति सर्नु र सम्बन्धित पक्षले घरेलु फुटबलको ढाँचाबारे ठोस निर्णय गर्न नसक्नु पनि खेलाडीहरु पलायनको एउटा कारक बनेको छ ।

त्यसमा फुटबल खेलेर नै नेपालमा स्तर र भविष्य बन्ने नदेखेपछि अधिकांश खेलाडीहरुले विदेश पलायनलाई अन्तिम विकल्पका रुपमा हेरेका छन् । यो खेलाडीहरुको विदेशिने सूची अझै लम्बिने अनुमान गरिएको छ ।

Post Comments
Advertisement Yamaha Nepal