News धरान १५ गोधुली कपको फाइनलमा
गोलनेपाल

धरान । शुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको धरान १५ यहाँ जारी २३औं गोधुली कप रनिङ्ग शिल्ड वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा धरान १५ ले धरान ५ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । धरान रंगशालामा भएको खेलमा धरान १५ का लागि ३६औं मिनटमा सुमन जिमी र ७६औं मिनटमा अनिश राईले गोल गरे ।

खेलमा धरान १५ का चन्दन मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ १२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर १६ र १७ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ १४ गतेका दिन हुनेछ ।

Post Comments