News पाँचौं सञ्जिवनी कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

तिलोत्तमा । शहिदहरुको सम्झनामा पछिल्लो पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको पाँचौं संस्करण यही माघ १६ गतेदेखि शुरु हुँदैछ ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरले प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको जानकारी दियो ।

शहिद दिवस कै अवसर पारी माघ १६ गतेदेखि हरेक वर्ष प्रतियोगिता आयोजना हुने भएकाले सोही मितिलाई यसवर्ष पनि निरन्तरता दिइएको आयोजक क्लबका अध्यक्ष अर्जुन केसीले बताए । स्थानीय फुटबल र खेलाडीलाई प्रोत्साहन र अवसर मिलोस भनेर नै प्रतियोगितामा बढीजसो स्थानीय क्लबहरुको सहभागिता रहेको अध्यक्ष केसीले बताए ।

तिलोत्तमा–१४ बागधुरा स्थित क्लबको आफ्नै मैदानमा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्रचारप्रसार सहित विभिन्न भौतिक तयारीहरु पनि सबै पूरा भईसकेको प्रतियोगिता संयोजक खिम थापाले बताए । ‘सबै तयारी भईसक्यो । अब खेल शुरु हुने दिन कै पर्खाईमा छौं ।’ संयोजक थापाले भने । उनका अनुसार यसपटक प्रतियोगिता अघिल्ला वर्षहरुमा भन्दा अझ राम्रो र भव्य हुने विश्वास र दावी गरे । प्रतियोगिता आयोजनामा कुनै कमी कमजोरी हुन नदिने र भईहाले पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्ने उनले बताए ।

तिलोत्तमा नगरपालिका, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ पाउनेछ भने उपविजेता ५५,५५५ रुपैयाँ पाउने आर्थिक संयोजक इन्द्र कुमार छन्त्यालले बताए । साथै उनले व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ८१ हजार भन्दा बढी खर्च लाग्ने आर्थिक संयोजक छन्त्यालले बताए ।

प्रतियोगितामा नवलपरासीका १ र रुपन्देहीका १५ गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा योङ स्टार एफसी, मडाहा र फोर ब्रदर्श एफसी, नवलपरासी भिड्ने खेल संयोजक खिम थापाले बताए । प्रतियोगिताको फाइनल खेल भने फागुन २ गतेका दिन हुनेछ ।

खेलतालिका पनि हेर्नुहोस् ।

 

Post Comments