News फोर ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । फोर ब्रदर्श क्लब, नवलपरासी जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा फोर ब्रदर्शले सौभाग्य युवा क्लब, दिपनगरलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ फोर ब्रदर्शका लागि भिम चौधरीले गोल गरेका थिए भने अर्को गोल तारा थापाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता सौभाग्यका लागि समिर श्रेष्ठ र चन्द्रिका चौधरीले गोल गरेका थिए ।

टाईब्रेकारमा भने फोर ब्रदर्शले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा फोर ब्रदर्शका गोलरक्षक बिक्रम राना मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन ६ गते शनिबारको पहिलो सेमिफाइनल खेल योङ स्टार एफसी र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले बताए । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments