News नव आदर्शलाई संगम कपको उपाधि
उमेश पुन
पोखरा । पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटबल प्रतियोगितामा उपाधि जित्न सफल भएको छ । पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधिसंगै नव आर्दशले करिब २४ बर्षमा उपाधि जित्न सफल भएको हो ।
 
यस अघि करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको समाजले हाल संगम कपको उपाधि जित्न सफल भएको हो । साविक उपबिजेता एल.जी.एशोसियसनलाई शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ३—२ को गोल अन्तरले पराजित गर्दै नव आर्दशले उपाधि सहित १ लाख ७५ हजार पुरस्कार प्राप्त गर्यो ।
 
नव आर्दशको जितमा सागर राई र सुशान्त गुरुङले १–१ गोलको योजदान दिएका थिए भने एक गोल उपहार प्राप्त भयो । एलजीका लागि आशीष गुरुङले दुई गोल गरे । यस बर्ष पनि उपबिजेता बन्न सफल भएको एल.जी.ले नगद एक लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
 
खेलको नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा एलजीका संजय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो । ३६ औं मिनेटमा आशीषले व्यक्तिगत दोश्रो गोल गर्दै टोलिलाई २–१ को स्थितिमा पु¥याए । खेलको ६५ औं मिनेटमा नव आदर्शका सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
 
निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गरेको गोलले नव आदर्शलाई २४ बर्ष पछि जित प्राप्त भयो । निकै राम्रो खेल प्रर्दशन गरेको एल.जी.ले पाएका ७ वटा भन्दा बढी असर खेर जानु नै दुर्रभाग्य हुन पुग्यो । प्रायः एल.जी.को दबाबमा परेको नव आर्दशले पाएका थोरै अवसरलाई गोलमा परिणत गर्दा नजिता आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल खेलमा नव आर्दशका सुसान्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
 
प्रतियोगितामा नव आर्दशका शुसान्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकरमा एल.जी.का आसिस गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.जी.कै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आर्दशका अनुज भण्डारी घोषित भए भने उत्कृष्ट गोलरक्षकमा नव आर्दशका आशिस केसी घोषित भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए ।
 
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनहि ५-५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ ।
 
विजयी खेलाडीहरुको टोलीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, जिल्ला खेलकुद विकास समिति कास्की तथा पोखरा १५ का अध्यक्ष तोरण बानिया, अखिल नेपाल फुटवल संघ(एन्फा) कास्कीका अध्यक्ष उज्जल रन्जित, एन्फा कास्कीका पूर्व उपाध्यक्ष एवं सहारा क्लवका पूर्व अध्यक्ष बिक्रम थकाली, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारी, मनकामना पेट्रोल पम्पका संचालक एवं खेलकुदकर्मी सुनिल गुरुङ, पोखरापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देल, प्रतियोगिता संयोजक शिव गुरूङ (माया) लगायतले पुरस्कार वितरण गरेका थिए ।
 
संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा यही फागुन ८ देखि सूरु भएको उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको अपिसियल राजेन्द्र तामाङले बताए ।
 
 
 
Post Comments