News सागका पदक विजेता पुरुष र महिला फुटबल टोलीलाई एन्फाले नगदसहित सम्मान गर्ने
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालकोप पुरुष फुटबल टोलीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।

आइतबार बसेको एन्फाको कार्यसमितिको बैठकले १३औं सागमा पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल नेपाली यु–२३ टोलीलाई जनही नगद ५ लाख ५० हजारका दरले सम्मानित गर्ने निर्णय गरेको हो ।

स्मरण रहोस, दशरथ रंगशालामा भएको १३औं सागको स्वर्ण पदक भिडन्तमा नेपालले भुटानलाई २–१ ले हराउँदै सागको पुरुष फुटबलमा लगातार दोस्रोपटक स्वर्ण जित्न सफल भएको थियो ।

महिला फुटबल टोली पनि सम्मानित हुने

त्यस्तै एन्फाको सो बैठकले सागको महिला फुटबल टोलीलाई पनि नगद सहित सम्मानित गर्ने घोषणा गरेको छ । एन्फाका अनुसार सागको महिला फुटबलतर्फ रजत पदक जित्न सफल महिला टोलीका सदस्यहरुलाई जनही १ लाख ५० हजारका दरले सम्मानित गर्ने घोषणा गरेको हो ।

स्मरणीय छ, सागको महिला फुटबलतर्फ पोखरामा भएको स्वर्ण पदक भिडन्तमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग १–० को झिनो अन्तरले पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएको थियो ।

 

Post Comments