News फराकिलो जितका साथ देवदह ब्वाईज क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । फराकिलो जितका साथ देवदह ब्वाईज, ढेकावर यहाँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले द राईजिङ क्लबलाई शून्यका विरुद्ध ७ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

पक्लिाहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा देवदहका लागि सुरज सुनार एक्लैले ह्याट्रिकसहित चार गोल गरे । थप दुई गोल बिजु गुरुङ्गले गरे भने सुरज चौथरीले एक गोल आफ्नो नाममा लेखाए ।

खेलमा चार गोल गरेका देवदहका सुरज सुनार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत १५ गते बुधबारको प्रिक्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे फुटबल क्लब, झण्डीबजार, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए । फाइनल खेल चैत २७ गतेका दिन हुनेछ ।

Post Comments