News संघर्षपुर्ण जितका साथ भैरव सेमिफाइनलमा
सुरज राना मगर

भैरहवा । संघर्षपुर्ण जित हात पार्दै भैरव फुटबल क्लब, नयाँगाउँ जारी २९औं माछापुच्छ्रे कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा भैरवले आहना एफसीलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्यसअघि पक्लिहवा कृषि क्याम्पस खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता भने आहनाले लिएको थियो । २९औं मिनटमा सुस्मित केसीको उत्कृष्ट फ्रिकिक गोलबाट आहनाले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि ३५औं मिनटमा मोहन थापाले भैरवका लागि बराबरी गोल फर्काएका थिए । त्यसको चार मिनट लगतै मोहनले नै भैरवका लागि दोस्रो गोल थपेका थिए । पहिलो हाफसम्म भैरवले त्यो अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ५०औं मिनटमा सुस्मित केसीले नै आहनाका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

त्यसपछिको टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा भैरवले ८–७ ले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो । खेलमा भैरवका मोहन थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत २४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल लुम्बिनी ज्ञानज्योति क्लब, सियारी र फर्साटिकर युवा क्लब, फर्साटिकरबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे क्लब, पक्लिहवा, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २७ गतेका दिन हुनेछ ।

Post Comments