
बुटवल । दोस्रो भूपू सैनिक भेट्रान कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार क्वाटरफाइनलका तीन खेलहरु सम्पन्न भए ।
बुधबार बिहान भएको दोस्रो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान, काठमाडौंले हेटौडा भेट्रान, मकवानपुरलाई २–१ ले हरायो । खेलमा भनिमण्डलका गोलरक्षक प्रदिप तण्डुकार म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दिनको दोस्रो खेल तथा तेस्रो क्वाटरफाइनलमा संगम भेट्रान, पोखराले अभिषेक चर्च भेट्रान, रजहरलाई १–० ले हरायो । खेलका निर्णायक गोलकर्ता नहेन्द्र गुरुङ्ग म्यान अफ द म्याच घोषित भए ।
दिनको अन्तिम तथा चौथो क्वाटरफाइनलमा चावहिल भेट्रान, काठमाडौंले रुद्रपुर भेट्रान, रुपन्देहीलाई ८–० को फराकिलो अन्तरले हरायो । खेलमा चावहिलका बिकर्ण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
अब बिहीबार हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा चावहिल भेट्रान र संगम भेट्रान भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा आयोजक भूपू सैनिक भेट्रान र भनिमण्डल भेट्रान आमने सामने हुनेछन् ।
भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।