News इभोलुशन कप शुरु, मुर्गियाको विजयी शुरुवात
सुरज राना मगर

तामनगर । इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा बिहीबारदेखि शुरु इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगितामा मुर्गिया एफसी, मुर्गियाले विजयी शुरुवात गरेको छ ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मुर्गियाले सिद्धार्थ क्लब, चपरहट्टीलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको ५२औं मिनटमा निशान्त न्यौपानेले पेनाल्टीबाट गरेको एक मात्र गोल मुर्गियालाई जित दिलाउन निर्णायक बन्यो ।

सिद्धार्थका खेलाडीले बक्स भित्र ह्याण्ड गरेपछि मुर्गियाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई निशान्तले कुनै गल्ती नगरी गोलपोष्टको जाली चुमाएका थिए । निर्णायक गोलकर्ता निशान्त नै खेलको म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै मुर्गिया प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत बैशाख १५ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल माउण्ट स्टार क्लब, बुटवल र लिस्नु युवा क्लब, कोटिहवाबीच खेल संयोजक सन्त बहादुर श्रीसले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल–१२ का वार्ड अध्यक्ष डिल्ली प्रसाद शर्मा, आयोजक इभोलुशन क्लब अफ बुटवलकी अध्यक्ष हिरा कुमारी तरामुले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको मूख्य प्रायोजन बुटवल–१२ तामनगर निवासी स्व. प्रबुद्ध रोशन श्रेष्ठको स्मृतिमा उनको परिवारले गरेको छ भने सह–प्रायोजन नेप युनाइटेड एफसी, हङकङले गरेको आयोजक क्लबकी अध्यक्ष हिरा कुमारी तरामुले जानकारी दिईन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबकी अध्यक्ष तरामुले जानकारी दिईन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले बताईन् ।

कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल बुद्ध जयन्तीको अवसर पारी यही बैशाख २२ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments