News थ्रीस्टारलाई हराउँदै एनआरटीको उत्साहित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार सम्पन्न एक मात्र खेलमा न्युरोडटिम (एनआरटी) ले बलियो थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै उत्साहित बनेको छ । १२औं चरणको खेलसम्म रेलिगेशन क्षेत्र नजिक संघर्ष गरिरहेको एनारटीले शुक्रबारको जितसँगै आठौं स्थानमा समेत पकड बनाएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलको ३६औं मिनटमा सञ्जिव विष्टले गरेको एक मात्र गोल एनआरटीलाई लिगको चौथो जित दिलाउन पर्याप्त बन्यो । यो नतिजापछि १३ खेलबाट १६ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लेको छ । पराजित थ्रीस्टार भने २२ अंकका साथ दोस्रो स्थान मै यथावत छ ।

यद्यपि थ्रीस्टारको स्थान तेस्रो स्थानको सातदोबाटो र चौथो स्थानको आर्मीले कब्जा गर्न सक्ने सम्भावना पनि छ । शिर्ष स्थानमा २३ अंकका साथ जावलाखेल रहेको छ । पुछारका दुई टोलीमा १३ र १२ अंक जोडेका हिमालयन शेर्पा र नेपाल पुलिस क्लब रहेका छन् ।

Post Comments