News आयोजक इभोलुशन अन्तिम चारमा
सुरज राना मगर

बुटवल । आयोजक इभोलुशन क्लब अफ बुटवल, तामनगर जारी इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलमा इभोलुशनले आरकेएफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भएको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा इभोलुशनका लागि कप्तान शरद क्षेत्री र सदिप केसीले एक–एक गोल गरे । यद्यपि खेलमा म्यान अफ द म्याच भने पराजित आरकेएफसीका गोलरक्षक संजय रोक्का घोषित भए ।

प्रतियोगिता अन्तरगत बैशाख १७ गते आइतबारको अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बेलबासबीच हुने खेल संयोजक सन्त बहादुर श्रीसले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष हिरा तरामुले जानकारी दिईन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments