News झापा: आयोजक न्यू स्टार क्लब कठिन जित निकाल्दै फाइनलमा
रमेश समदर्शी

झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो सेमिफाइनलबाट आयोजक न्यू स्टार क्लबले कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेकोे छ ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको खेलमा इलामको रेडहर्ष एफसीलाई १-० गोलले पराजित गर्दै आयोजक उपाधि नजिक रहेको हो । उपाधिको दाबेदार मानिएको इलामलाई रोक्न विश्वास लावतीको एक गोल नै निर्णायक बन्यो ।

दुवै टिमबाट विदेशी खेलाडी मैदानमा उतारिए पनि आकर्षक खेल भने पस्कन सकेनन् । दुवै टोलीले पाएको अवसर खेर फालेका थिए । अन्ततः आयोजकका परिवर्तित खेलाडी विश्वास लिम्बूले गोलको खाता खोल्न सफल भए । आयोजकका सोना लिम्बूको स्थानमा मैदान प्रवेश गरेका विश्वासले खेलको ५७औँ मिनेटमा विपक्षी गोलकिपर बिट भएको मौकामा गोल गरेका हुन् । दायाँ क्षेत्रबाट राेहन कार्कीकाे ओभर ल्यापिङमा पाएकाे 'लाे' पासमा विश्वासले निर्णायक गोल गरे । उनी म्यान अफ दी म्याचहुँदै नगद ३ हजार पाउन सफल भए ।

जितसँगै आयोजकले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । भोलि बिहीबार सुनसरीको बराहक्षेत्र ११ ले मोरङको जनसहयोग युथ क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Post Comments