News लिगमा बिहीबार तीनै खेल बराबरी, लिगलिडर चर्च ब्वाईजलाई फाईदा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार १९औं चरणतर्फका तीन खेलहरु बराबरीमा टुंगिएका छन् । दशरथ रंगशालामा साँझ भएको खेलमा शिर्षताको होडमा रहेको जावलाखेलले एनआरटीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

३६औं मिनटमा सुनिल खड्काको गोलबाट अग्रता लिएको जावलाखेलले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो । ५०औं मिनटमा लालनुनजामाले एनआरटीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यो नतिजापछि १९ खेलबाट ३२ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ । र यो नतिजाले लिगलिडर चर्च ब्वाईजलाई फाईदा पुगेको छ । एक खेल कम खेलेको चर्च ब्वाईज ३३ अंकका साथ शिर्ष स्थानमा छ । उता एनआरटी भने २३ अंकका साथ आठौं स्थानमा उक्लेको छ ।

मनाङको आठौं बराबरी, मच्छिन्द्र पनि रोकियो

त्यस्तै च्यासल स्टेडियममा भएको खेलमा पछिल्लो समय जितका लागि संघर्ष गरिरहेका दुई टोली मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले २–२ गोलको बराबरी खेलेका थिए । पटक–पटकको अग्रता गुमाउन पुगेको मनाङले अन्ततः महत्वपूर्ण अंक पनि गुमाउन पुग्यो ।

१९औं मिनटमा कोफी कुडुको गोलबाट अग्रता लिएको मनाङले त्यसलाई पहिलो हाफ मै गुमाउन पुग्यो । ४४औं मिनटमा युसेफ एट्रिसले संकटाका लागि बराबरी गोल फर्काए । तर पनि मनाङले त्यसको एक मिनट लगतै कुडुको गोलमै दोस्रोपटक खेलमा अग्रता बनायो । पहिलो हाफसम्म मनाङले २–१ को त्यो अग्रता कायम पनि राख्यो ।

तर दोस्रो हाफको ५२औं मिनटमा मनिष डाँगीले संकटाका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । यो नतिजापछि १९ खेलबाट २३ अंक जोडेको मनाङ लिगतालिकाको सातौं स्थानमा छ । उता संकटा भने २२ अंकका साथ ११औं स्थानमा छ ।

त्यस्तै दशरथ रंगशाला मै भएको अर्को खेलमा तेस्रो स्थानको टोली मच्छिन्द्र फुटबल क्लबले पुछारतिरको फ्रेण्डस क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । खेलमा दुवै तर्फबाट भएका चारै गोलहरु दोस्रो हाफमा सम्भव भए ।

६८औं मिनटमा प्रकाश बुढाथोकीको गोलबाट फ्रेण्डसले खेलमा अग्रता लियो । तर त्यसको तीन मिनट लगतै आफिज ओलावालेले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए । नाटकीय बनेको खेलको अन्तिम समयतिर ७९औं मिनटमा रफिक अमिनुले फ्रेण्डसलाई फेरि खेलमा अग्रता दिलाए । तर त्यसको पनि चार मिनट लगतै ओलावालेले दोस्रो गोल गर्दै मच्छिन्द्रलाई सम्भावित हारबाट जोगाउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि १९ खेलबाट ३१ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको तेस्रो स्थान मै यथावत छ । उता फ्रेण्डस भने २१ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत छ ।

Post Comments