News ग्लोरीको ह्याट्रिकसँगै लिस्नु सेमिफाइनलमा
गोलनेपाल

लिस्नु युवा क्लब, कोटिहवा रुपन्देहीमा जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा लिस्नुले राधाकृष्ण एफसी, बुटवललाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा लिस्नुका लागि अफ्रिकी खेलाडी जोना ग्लोरी एक्लैले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । उता पराजित राधाकृष्णका लागि जोन र बिनोद केसीले गोल गरे ।

शनिबारको खेलमा लिस्नुका आशिष क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज २१ गते आइतबारको दोस्रो सेमिफाइनल खेल इन्टर स्र्पोट्स क्लब, बुटवल र फर्साटिकर युवा क्लब, सौ–फर्साटिकर बीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।

Post Comments