News आयोजकलाई निराश पार्दै फोर ब्रदर्श पाल्पा गोल्डकपको सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । पाहुना टोली फोर ब्रदर्श एफसी, नवलपरासी यहाँ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

टुंडिखेल मैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ फोर ब्रदर्शले घरेलु टोली पाल्पा–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको ६९औं मिनटमा कृपा चौधरीले गरेको एक मात्र गोल फोर द्रदर्शलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलमा फोर ब्रदर्श कै एलिस मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २० गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल २८ बिघा युथ क्लब, नवलपुर र होराइजन एफसी, वालिङ बीच हुने खेल संयोजक करण चित्रकारले बताए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए । फाइनल खेल यही जेठ २७ गतेका दिन हुनेछ ।

Post Comments