News फ्रिडम फाईटरलाई उपाधि
गोलनेपाल

काठमाडौं । दोस्रो वडा अध्यक्ष कप राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाईटर भेट्रानले जितेको छ । फाइनलमा तकामी भेट्रानलाई ३–१ ले हराउँदै फ्रिडम च्याम्पियन बनेको हो ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको उपाधि भिडन्तमा फ्रिडमले तकामीमाथि ३–१ को जित निकाल्यो । फ्रिडमको जितमा विकर्ण श्रेष्ठले २ गोल गरे भने थप एक गोल राजकुमार घिसिङले गरे । उता पराजित तकामीका लागि रितेश थापाले एक मात्र सान्त्वना गोल फर्काए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजना तथा चावहिल स्पोर्टस क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेता बनेको फ्रिडमले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता तकामीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मुकुन्द थापा बन्दा उत्कृष्ट डिफेन्डर राजनलाल नेपाली चुनिए । उत्कृष्ट मिडफिल्डर राजकुमार घिसिङ घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी रितेश थापा बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

Post Comments