News छैठौं चितवन कपमा अभिषेक चर्चको विजयी शुरुवात
गोलनेपाल

भरतपुर । मंगलबारदेखि शुरु भएको छैठौं चितवन कप नकआउट फुटबल प्रतियोगितामा अभिषेक चर्च, रजहरले विजयी शुरुवात गरेको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको उद्घाटन खेलमा अभिषेक चर्चले नारायणी मोटर्स युनिक एफसीलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ अभिषेक चर्चका लागि प्रकाश बुढाथोकीले गोल गरेका थिए भने युनिकका लागि सागर आले मगरले गोल गरेका थिए । टाईब्रेकरमा भने अभिषेक चर्चले नतिजा ३–१ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा प्रवेश गर्न समेत सफल भयो ।

खेलमा अभिषेक चर्चका गोलरक्षक अनुप राना म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । प्रतियोगिता अन्तरगत असार ६ गते बुधबारको प्रिक्वाटरफाइनल खेल केबिए ग्लोबल भरतपुर एफसी र स्टार स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक र विशेष सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments