News हर्दी युवा समाजको उत्कृष्ट जित
गोलनेपाल

चितवन । उत्कृष्ट जितका साथ हर्दी युवा समाज, भण्डारा यहाँ जारी छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ हर्दी युवा समाजले जेपिओसी तालिम केन्द्रलाई ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको खेलको आठौं मिनट मै अमर डंगोलको गोलबाट हर्दीले खेलमा अग्रता बनाएको थियो । तर २१औं मिनटमा अजय गुरुङले जेपिओसीका लागि बराबरी गोल फर्काए ।

खेलको ४३औं मिनटमा विज्ञान चौधरीले हर्दीलाई फेरि खेलमा अग्रता दिलाए । पहिलो हाफसम्म हर्दीले २–१ को अग्रता कायम राख्यो । त्यस्तै दोस्रो हाफको ७१औं मिनटमा बिज्ञान चौधरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने ८०औं मिनटमा अमर डंगोलले व्यक्तिगत दोस्रो तथा हर्दी युवा समाजका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा हर्दी युवा समाजका विज्ञान चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असार ८ गते शुक्रबारको खेल त्रिवेणी युवा क्लब, मुग्लिन र आयोजक एभरेष्ट क्लब, चितवनबीच हुने आयोजकले जानकारी दियो ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार १६ गतेका दिन हुनेछ ।

Post Comments